सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगामा समाजमा विद्यमान हानिकारक अभ्यास सम्बन्धि मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा उक्त कार्यक्रम शुक्रबार बाणगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले समाज अझै पनि लैंगिक विभेद कायम रहेको बताए । धर्म तथा सस्कृतिका नाममा समाजमा विभिन्न किसिमका विभेदहरु हुने गरेको उनको भनाई छ । अन्य विकसित देशहरुमा समेत विभेद कायम रहेको बताउँदै उनले भने, ‘विभेदका घटनाको प्रकृति हेरेर ति देशमा सजाय, दण्ड हुन्छ । तर हाम्रो देशमा त्यो हुन सकेको छैन् । यसले पनि लैंगिक हिंसाका घटनालाई प्रोत्साहित गरेको छ ।’
राष्ट्रिय महिला आयोगले बर्षेनी सल्लाह, सुझावसहित प्रतिवेदन बुझाउने गरेको तर उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निकाय चुक्ने गरेको उनले बताए । लैंगिक हिंसा तथा सबै प्रकारका विभेद विरुद्ध नगरपालिका सदैव प्रतिवद्ध रहेको उनले जिकीर गरे ।
बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले समाजमा महिला हिंसा मात्र नभई पुरुष हिंसा पनि विद्यमान रहेको बताईन् । लैंगिक हिंसाका घटनाको न्युनिकरणका लागी सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने बताउँदै उनले भनिन्, ‘महिला मात्र हिंसामा होईन्, अहिले वास्तवमा पुरुष पनि हिंसामा परेका छन् ।’
वैदेशिक रोजगारका लागी पुरुषहरु बाहिरी देश जाने गरेको र फर्किएर घर आउँदा कमाएको सम्पत्तिसंगै श्रीमति पनि नहुने घटना बढ्दै गएको उनले बताईन् ।
राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले लैंगिक हिंसा तथा विभेदको अन्त्यका लागी विद्यालय तहका पाठ्यक्रममा सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताईन् । उनले राष्ट्रिय महिला आयोगका काम, कर्तव्य तथा अधिकारका क्षेत्रबारे प्रष्ट पारिन् । आयोगले विगतदेखि नै महिलाका हक अधिकारको संरक्षण तथा पैरवी गर्दै आएको बताउँदै उनले भनिन्, ‘पछिल्लो समय सम्बन्ध विच्छेदका घटनाहरु आयोगमा धेरै आएका छन् । यसको न्युनिकरणका लागी आयोगले गर्न सक्ने आवश्यक कदम चालेर अघि बढ्ने योजनामा छ ।’
कार्यक्रममा सहभागिले कपिलवस्तुमा विभिन्न किसिमका विभेद तथा हिंसाको अवस्थाका बारेमा चर्चा गरेका थिए ।








