दाङ ।
लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो ।
प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी प्रदेश राजधानी अस्थाई मुकाम बुटवलबाट स्थाई राजधानी दाङको राप्ती उपत्यकामा सार्न लागिएको हो ।
मंसिर महिनाभित्र प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रिपरिषद्का कार्यालयहरु बुटवलबाट दाङको राप्ती उपत्यकामा ल्याइ सक्ने र नवनिर्वाचित सांसदहरुलाई दाङको प्रदेश सभा भवनमा शथप ग्रहण समेत गराउँने गरी प्रदेश सरकारले तयारी थालेको हो ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत अन्य मन्त्रालय सार्न पूर्वाधार तयार गर्ने काम गरिरहेको छ । राप्ती गाउँपालिकाको लालमटियामा अवस्थित राप्ती प्राविधिक कलेजमा प्रदेश राजधानीका मन्त्रालय राख्ने गरी सबै पूर्वाधार तयार तथा व्यवास्थापनको काम भइरहेको छ ।