रुपन्देही ।
नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो ।
कांग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरू निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ ।
प्रदेश सभाबाट दाङको देखुुरी उपत्यका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णयअनुसार अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न माग अघि सारेको हो ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।








