गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभा बैठक माघ ३ गते बस्ने

लुम्बिनी प्रदेशसभा बैठक माघ ३ गते बस्ने

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ। पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति सोमबार तोकेका हुन्।

यो बीचमा सभामुख र उपसभामुख चयनको बाटो खुलेको छ। पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी प्रावधान छ।

त्यसका लागि राजनीतिक दलहरू बीचमा छलफल सुरू भएको छ। आगामी बैठकले सभामुख चयन गर्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले आशा व्यक्त गरे।

सोमबारकै प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको थियो।

ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको थियो।

अब सोही नियमावलीको आधारमा प्रदेश सभाका  गतिविधि संचालन हुने छन्।  यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो।

उक्त नियमावलीमा ५० प्रतिशत  बढी संशोधन गर्नुपर्ने अवस्था रहेको हुँदा नयाँ नियमावली बनाउनु परेको प्रदेशसभा सचिव मगरले बताए।

त्यस्तै, नयाँ सरकार गठनका लागि पनि दलका बीचमा आन्तरिक गृहकार्य सुरू भएको छ। लुम्बिनीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अझै यकिन भइसकेको छैन।

सत्ता गठबन्धनमध्येबाटै नेकपा एमाले र नेकपा माओवादी केन्द्र नयाँ सरकार गठनका लागि बढी सक्रिय देखिएका छन्।

प्रमुख प्रतिपक्षी मानिएको नेपाली कांग्रेस पनि आफ्नो पक्षमा माहोल बनाउने कसरत गरिरहेको छ।

सम्बन्धित् समाचार