वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा वडास्तरिय खेलकुद प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता शनिबार एक कार्यक्रमका बीच नयाँबस्तीमा रहेको खेलमैदानमा सुरु भएको हो । उक्त प्रतियोगितामा फुटवल र क्रिकेट गरि दुई विधाका खेल हुने छन् । शनिबार भएको फुटवलमा २ वटा खेल भएका छन् ।
चौरी र ईस्लामनगर बीच भएको पहिलो खेलमा चौरीले ७–० को गोलअन्तरले जित निकालेको खेल संयोजक खोम बहादुर थापाले जानकारी दिए । नयाँबस्ती र नौडीबीच भएको दोस्रो खेलमा नयाँबस्तीले ५–० को गोलअन्तरले जित हात पारेको उनले जानकारी दिए । उनका अनुसार भोलि आईतबार चौरी र दरखसवाबीच हुने खेल हुने र उक्त दुई टोलीमा जित निकाल्ने टोली फाईनल प्रवेश गर्ने छ ।

खेलकुदले व्यक्तिको शारिरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास गर्न अहम भूमिका निर्वाह गर्ने भएकाले प्रतियोगिता गरेको वडाध्यक्ष रोम बहादुर थापाले बताए । उनले प्रतियोगिताले सहभागि खेलाडिलाई आफ्नो खेल सिप थप विकास गर्न मद्दत गरेको बताए ।
वडाध्यक्ष थापाले खेलकुदकै माध्यमबाट वडा, नगर हुदैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने बताए । उनले वडाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको र खेलाडीहरुको खेल सिप विकासलाई आगी आगामी दिनमा पनि विभिन्न प्रतियोगिताहरु संचालन गर्दै जाने प्रतिवद्धता जनाए ।
प्रतियोगितका विजेतालाई शिल्ड, मेडलसहित प्रमाण पत्र प्रदान गरिने वडा सचिव निरज थापाले बताए । प्रतियोगिताको उद्घाटन समारोहमा वडाका जनप्रतिनिधि, निवर्तमान जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवीसहित खेलाडी एवम् वडावासीको उल्लेख्नीय उपस्थिति रहेको थियो ।








