गृहपृष्ठ खबर १३ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा

१३ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार पत्रकार सम्मेलन गरि आयोजकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

महोत्सवको तयारीको काम अन्तिम चरणमा पुगेको र अन्य बाँकी काम सोमबारसम्म सकिने गरि काम भईरहेको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने गरि काम भईरहेको बताउँदै उनले भने, ‘अहिले समग्रमा तयारीको काम अन्तिम चरणमा पुगेको छ । सोमबार साँझसम्म सबै काम सकिन्छ ।’

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले विगतका महोत्सवहरुबाट पाठ सिक्दै यस महोत्सवलाई ऐतिहासिक बनाउने गरि संचालन गर्न लागिएको बताए ।

उनले १३ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तुकै उत्सावका रुपमा स्थापित गर्ने गरि तयारी गरिएको बताए । कम्पाण्ड, स्टल, सचिवालय, बालउद्यान निर्माणको काम सम्पन्न भएको उनले जानकारी दिए । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने बताए । आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिमार्फत सम्पन्न भएको बताउँदै उनले भने, ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नेमा हामी आशावादी छौं ।’

महोत्सवमा डेढ लाख दर्शन भित्राउँदै करिब ६ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । महोत्सवलाई नयाँपन दिन प्रमुख अतिथिलाई बग्गी चढाएर स्टेजसम्म लैजाने व्यवस्थापन मिलाएको उनले बताए ।

संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिदैं यस महोत्सवलाई नयाँपन दिन ‘सिङ्गीङ आईडल’ गर्न लागिएको बताए । उनले ‘सिङ्गीङ आईडल’ महोत्सवको आकर्षणको केन्द्रविन्दुका स्थापित हुने दाबी समेत गरे । उनले दुवै आईडलतर्फका आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले मिडियाका क्षेत्रबाट यस महोत्सवलाई सफल बनाउन महत्वपुर्ण भूमिका निर्वाह प्रतिवद्धता जनाए । उनले महोत्सवबाट हुने आम्दानीको केही रकम पत्रकारहरुको हकहितका लागी स्थापित गरिएको कोषमा जम्मा गर्न आग्रह गरे ।

पत्रकार सम्मेलन कार्यक्रम संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार