गृहपृष्ठ Featured घोराही–तुलसीपुर सडक : ४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

घोराही–तुलसीपुर सडक : ४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

दाङ ।

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–७ पर्सेनीमा चार लेन बनाउन थालेको चार वर्ष पूरा भयो । यसबीच करिब १० प्रतिशत मात्रै काम भएको छ । डेढ वर्षमा काम सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप भइसकेको छ ।

चार लेन बनाउन भत्काउन थालेयता यस सडकमा भएका दुर्घटनामा २५ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण मल्लले बताए । हालसम्म ५९ वटा दुर्घटना भएको र त्यसमा ८१ सवारीसाधन परेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ९४ जना घाइते भएका छन् । सडक भत्काएर अलपत्र छोड्दा र बीचबीचमा खाल्डा हुँदा दुर्घटनाको जोखिम रहेको उनले बताए । ‘सडक साँघुरो भएका कारण सवारीसाधन सञ्चालनमा धेरै सावधानी अपनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यति छोटो दूरीको सडकमा धेरै मानवीय तथा भौतिक क्षति भइसक्यो ।’

सडकको दुवैतिर बाटो काटेर छोडिएको छ । गाडी सजिलै पास हुन सक्ने अवस्था छैन । छेउमा गए गाडी पल्टिने, सडकमै रहे अर्कोसँग ठोक्किने अवस्था छ । ठूल्ठूला खाल्डा खनेर छाडिएको छ । जोखिमपूर्ण सडकमा कति बेला कसको ज्यान जान्छ, भरै छैन ।

सरकार र भारतको एक्जिम बैंकको ऋण सहयोगमा २०७५ माघ १४ मा सम्झौता भई सडक निर्माण सुरु भएको हो । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८.१९ किलोमिटर सडक फोर लेन तथा दुई लेन बन्दै छ । बबईदेखि घोराही बजारसम्म ६.५३ किमि दुई लेन, घोराहीदेखि थापाचोक सर्रा ४.०५ किमि फोर लेन, थापा चोकदेखि नारायणपुर ३.५ किमि दुई लेन, नारायणपुरदेखि खैरा २.१ किमि फोर लेन, खैरादेखि दुधराससम्म ३.७ किमि दुई लेन र दुधरासदेखि तुलसीपुरसम्म ८.३१ किमि चार लेन निर्माण गर्ने योजना छ ।

सम्बन्धित् समाचार