लुम्बिनी ।
रूपन्देहीको मायादेवी–४ का स्थानीय बाबुलाल कलवार हिजोआज कसैसँग त्यति बोल्दैनन् । वर्षौंदेखि उनले चलाइरहेको चिया पसलमा आउनेसँग पनि उनको राम्रो बोलीचाली छैन । निराश रहिरहने उनी बिहानदेखि साँझसम्मै फोनमा ध्यान दिइरहेका हुन्छन् । उनको चियापसल अहिले छोराले सम्हालेका छन् ।
मिहिनेत गरी कमाएको केही पैसा पनि बचतका नाममा लुटिएपछि असह्य मानसिक पीडा भोग्नुपरेको उनले बताए । ‘दुई वर्ष भयो पैसा दिन्छु भनेर झुलाएको तर दिँदैन,’ उनले भने, ‘ममाथि विश्वास गरेर सँगै बचत गरेका छरछिमेकका पसले र गाउँलेसँग त्यही कारणले सम्बन्ध बिग्रिएको छ ।’ आफूले बचत गरेपछि अरूले पनि गरेको र सबैको पैसा अहिले डुबेको उनले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा रहेको धर्मोदय बचत तथा ऋण सहकारी संस्थामा उनले दैनिक बचत गरेका थिए । अहिले उक्त सहकारी कार्यालय बन्द छ । सहकारी सञ्चालकका घरमा दैनिकजसो घेरा हाल्ने र नाराबाजी गर्ने गरेको पीडित कलवारले बताए
विगत दुई वर्षदेखि अलिअलि गर्दै भए पनि पैसा देऊ भनेर फकाउने गरिरहेको कलवारले बताए । ‘हिजोआज त बहानामाथि बहाना बनाएर झनै दुःख दिइरहेको छ,’ उनले भने । सबैलाई फकाइफुलाई बचतकर्ता बनाएको र अहिले पासबुकसमेत लगेपछि आफूहरूसँग प्रमाण नै नरहेको उनले बताए ।
लुम्बिनी सांस्कृतिक–१० कै मनोज बानियाँ पनि सहकारी पीडित हुन् । मायादेवी–४ झुलनीपुरमा रहेको उन्नति कृषि सहकारी संस्था नामक सहकारीमा उनले तीन वर्षदेखि पैसा जम्मा गरिरहेका थिए ।
डर हुँदाहुँदै छिमेकी पसलका सबैले ‘बचत हो, यसमा जोखिम हुँदैन’ भनेर सल्लाह दिएपछि आफू पनि त्यसमै मिसिएको उनले बताए । ‘१/२ पटक दिएजस्तै गर्यो,’ उनले भने, ‘तिहारमा दिन्छु भनेको पैसा अहिलेसम्म पाएको छैन ।’ उनले सहकारीबाट झन्डै २ लाख रुपैयाँ लिन बाँकी रहेको बताए । ‘दुई पटक गरेर ६० हजार पाएको थिएँ,’ उनले थपे, ‘अहिले माग्दा उनका बुवाले फोन उठाउँछन्, जग्गा बेचेर दिन्छु भन्दै ढाँट्छन् ।’








