गृहपृष्ठ Featured दाङका पालिकाले कार्यसम्पादन मूल्यांकनमा कटाएनन् ६५ अंक

दाङका पालिकाले कार्यसम्पादन मूल्यांकनमा कटाएनन् ६५ अंक

दाङ । 

दाङका स्थानीय तहले स्थानीय तहको कार्यसम्पादन मूल्याकनमा ६५ अंक समेत कटाउन सकेका छैनन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा दाङका १० वटा पालिकाको अवस्था ६५ अंकभन्दा तल देखिएको छ। ११ सूचकका आधारमा प्रदेश र १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरिएको थियो।

त्यसमा विगतमा उत्कृष्ट देखिएका दाङका स्थानीय तहहरू यसपटक कमजोर देखिएका छन्। स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा दाङका १० पालिका मध्ये राप्ती गाउँपालिकाले सबैभन्दा बढी अंक ६४.१७ प्राप्त गरेको छ।

संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिकाले दाङमा सबैभन्दा बढी अंक ल्याएको तह भएको छ भने दाङमा रहेका उपमहानगर र नगरपालिकाको कार्य सम्पादन गाउँपालिकाभन्दा कम देखिएको छ।

दोस्रोमा बंगलाचुली गाउँपालिकाले रहेको छ। उसले ५९.१६ ल्याएको छ। तुलसीपुर उपमहानगरपालिकाले ५८.५४, दंगीशरण गाउँपालिकाले ५५.६२ अंक प्राप्त गरेको छ। शान्तिनगर गाउँपालिकाले ५३.७९, घोराही उपमहानगरपालिकाले ४९.२८ अंक प्राप्त गरेको छ। त्यस्तै लमही नगरपालिकाले ४९.१४, बबई गाउँपालिकाले ४५.८८, राजपुर गाउँपालिकाले ४५.०१ र गढवा गाउँपालिकाले ४०.४९ अंक प्राप्त गरेको छ।

स्थानीय तहमा कार्य सम्पादन मूल्याकन गर्दा स्थानीय तहको हकमा समयमा बजेट पेस गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको देखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई राखेको थियो। आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो। यो मूल्यांकन विगतमा पनि हुदै आएको थियो।

सम्बन्धित् समाचार