बाँके ।
बाँकेका कुखुरा व्यवसायीले सडकमा कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन्। जमुनाह नाकाबाट समेत अवैध कुखुरा भित्रिएको भन्दै कुखुरा व्यवसायीले नेपालगन्जस्थित गणेशमान चोकमा कुखुरा फालेर विरोध गरेका हुन्।
अवैध रूपमा भारतीय कुखुरा भित्रिएका कारण नेपाली कुखुराले बजार नपाएको कुखुरा व्यवसायी मोहम्मद हुसैन खाँले गुनासो गरे।
भारतीय कुखुरा नियन्त्रणका लागि बाँके प्रशासन र जिल्ला प्रहरी कार्यालयको पटक-पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको उनले बताए।
सशस्त्र र नेपाल प्रहारीको मिलेमतोमा तस्करहरूले भारतबाट ज्युँदो कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेको व्यवसायीहरूको भनाइ छ। बाँकेको जमुनाह, डुडुवा गाउँपालिका, जानकी र नरैनापुर गाउँपालिकामा पर्ने नाकाबाट ठूलो संख्यामा भारतीय कुखुरा नेपाल भित्रिने गरेको कुखुरापालक किसानले दाबी गरेका छन्।
उनका अनुसार बिहीबार गणेशमान चोकमा करिब पाँच सय कुखुरा सडकमा फालेर विरोध प्रदर्शन भएको छ। यसपछि पनि कुनै सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रिने व्यवसायीहरूले चेतावनी दिएका छन्।








