गृहपृष्ठ कृषि बाणगंगा- २ का व्यवसायिक पशुपालक कृषकलाई घाँसको बिउ वितरण

बाणगंगा- २ का व्यवसायिक पशुपालक कृषकलाई घाँसको बिउ वितरण

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिका वडा नम्बर २ ले व्यवसायिक पशुपालक कृषकहरुलाई घाँसको बिउ वितरण गरेको छ । आज सोमबार पिपरामा अवस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कृषकहरुलाई घाँसको बिउ वितरण गरिएको हो । करिब ५ सय जना कृषकहरुलाई घाँसको विउ वितरण गर्ने लक्ष्य राखेको वडाले आज सोमबार मात्र एक सय जना बढी कृषकहरुलाई वितरण गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले निर्वाहमुखी नभई व्यवसायिक पशुपालक बन्ने दिशातर्फ अघि बढ्न आग्रह गरिन् । वडाले वितरण गरेको घाँसको विउको कृषकहरुले सही सदुपयोग गरेर उत्पादन बढाउने उनले विश्वास व्यक्त गरिन् ।

नगरपालिकाले कृषकलाई प्रोत्साहित गर्न विभिन्न अनुदानका कार्यक्रम संचालन गरेको बताउँदै उनले कृषकका समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको जिकीर गरिन् । कृषकहरुलाई आफ्नो पेसामा टिकाईराख्न वडा नम्बर २ ले उदाहरणीय काम गर्दै आईरहेकोमा उनले खुशी व्यक्त गरिन् । नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उपप्रमुख चौधरीको भनाई छ ।

बाणगंगा नगरपालिकाका पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले उत्पादन बढाउन घाँसमा आधारित पशुपालन गर्नुपर्ने बताए । बाणगंगा नगरपालिका दुधमा आत्मनिर्भर हुने दिशातर्फ उन्मुख रहेको बताउँदै उनले दुध वितरणमा कुनै समस्या नरहेको दाबी गरे ।

आर्थिक बर्ष २०७९/८० को कृषि तथा पशुपालन कार्यक्रम अन्तर्गत कृषकहरुलाई घाँसको बिउ वितरण गरिएको बताए । कृषकलाई प्रोत्साहित गरेर स्थानीय सरकार कृषकको साथमा छ भन्ने अनुभूति दिलाउन यस्ता कार्यक्रम विगतदेखि गर्दै आएको र आगामी दिनमा पनि निरन्तर गर्दै जाने उनले प्रतिवद्धता जनाए ।

वडाध्यक्ष पौडेलले किसानको हक हितमा वडाले निरन्तर योजनावद्ध रुपमा काम गरेको दाबी गरे । व्यवसायिक कृषकलाई वडाले प्राथमिकतामा राखेको उनले बताए । वडाबाट अनुदान स्वरुपमा पाएको विउविजन अन्यलाई दिएको सुचना आफुले प्राप्त गरेको बताउँदै वडाध्यक्ष पौडेलले अबदेखि त्यस्तो नगर्न चेतावनी समेत दिए ।

सम्बन्धित् समाचार