काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा बुधबारलाई पेसी तोकिएको छ ।
मंगलबार न्यायाधीश सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिलने भन्दै स्थगित भएको हो ।
न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए । सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।
सोमबार युवराज पौडेल (सफल)ले लामिछाने विरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।








