मनोज पौडेल, लुम्बिनी ।
नेपालीले नयाँ वर्ष मनाएसँगै थाई नागरिकले पनि लुम्बिनीमा थाई परम्पराअनुसार आइतबार नयाँ वर्ष सोङक्रङ मनाएका छन् । राजकीय थाई विहारमा भिक्षु/भिक्षुणीले पानी छ्यापाछ्याप गरेर मनाएका हुन् ।

लुम्बिनीको शान्ति द्विपस्थित नजिक रहेको बेबी बुद्धमा पूजाआजा गरियो । उक्त अवसरमा बेबी बुद्धलाई धार्मिक विधिवपूर्वक पूजाआजा गरी नुहाइदिएका थिए । उक्त अवसरमा भिक्षु/भिक्षुणीले पुष्पवर्षा गरेका थिए ।
समग्र मानव जीवन र प्राणीको सुख, शान्ति र कल्याणका लागि उनीहरूले परित्राण पाठ गरेका थिए । थाइल्यान्डमा राष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गरेर मुलुकभर ५ दिनसम्म नयाँ वर्ष मनाउने गरिन्छ ।

सोङक्रन उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष भनेको पानी फाल्ने हो । रङ नराखेको पानी छ्यापाछ्याप गरेर उत्सव मनाइन्छ । उक्त अवसरमा भारत र नेपालका लाथि थाई धर्मदूत फ्रा थम्म बोधीओङले नेपाल र थाइल्यान्डले सँगसँगै नयाँ वर्षलाई उत्सवका रुपमा मनाउनुले दुवै मुलुक सांस्कृतिक रुपले पनि नजिक रहेको बताए ।
यसले आपसी मित्रता र एकता अझ सुदृढ हुँदै गएको उनले बताए ।








