बुद्धभूमि, वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले दैनिक जीवनमा आईपर्ने समस्या समाधानका लागि वाककला अत्यावश्यक रहेको बताएका छन् । व्यक्तिको बोल्न सक्ने क्षमता अभिवृद्धि गर्न उद्घोषण तालिमले महत्वपूर्ण भूमिका रहने मेयर श्रेष्ठको भनाई छ । बुद्धभूमि नगरपालिका- २ को आयोजना तथा वैखरी मिडिया प्रा.लि.को सहजीकरणमा भएको किशोरकिशोरीलाई २ दिने उद्घोषण तालिमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले तालिमबाटै आवश्यक ज्ञान प्राप्त गरेर क्रमश अभ्यास गर्दै गए मात्र सयौं जनाको अगाडि बोल्ने बानीको विकास हुने बताए । बोल्नेको पिठो पनि बिक्ने नबोल्नेको चामल पनि नविक्ने बताउँदै उचित समयमा आफ्नो विचार व्यक्त गर्नसक्नुपर्ने बताए ।
कहाँ, कसरी बोल्ने भन्ने कुराको ज्ञान प्राप्त नहुँदा दुुःख पाईने बताउँदै सो समस्या निराकरण गर्न तालिम फलदायी हुने उनले बताए । उद्घोषण कलाबाटै व्यक्तिको क्षमता विकास हुदैं रचतनात्मक कार्य गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । तालिममा सहभागि किशोरकिशोरी तालिम पश्चात आफ्ना गाउँ–ठाउँमा हुने औपचारिक तथा अनौपचारिक कार्यक्रमको उद्घोषक गर्न अग्रसर हुने बताए ।
वडा नम्बर २ का वडाअध्यक्ष सुरज प्रताप राणाले किशोरकिशोरीले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि बोल्न सक्ने क्षमता हुनुपर्ने बताए । उक्त क्षमता विकास गर्न नै तालिम आयोजना गरिएको बताउँदै उनले किशोरकिशोरीको आवश्यकतालाई मध्येनजर गर्दै आगामी दिनमा पनि विभिन्न तालिम गरिने प्रतिवद्धता जनाए ।
किशोरीकिशोरीलाई समाज रुपान्तरण र शसक्तिकरणमा प्रोत्साहित गर्न तालिमले सहयोग गर्ने उनको विश्वास छ ।
२५ जना किशोरकिशोरीको सहभागिता रहेको उक्त तालिम विहिबार सम्पन्न भएको छ ।








