वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका वडा नम्बर २ ले शारिरीक रुपमा अशक्त सालिकराम सोमैलाई ठेला प्रदान गरेको छ । युवा व्यवसायी प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडाले ५० हजार रुपैयाँ बराबरको फलामे ठेला प्रदान गरेको वडा सचिव सन्तोष थापाले जानकारी दिए । वडा कार्यालय पिपरामा नगर प्रमुख चक्रपाणी अर्याल, वडाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका जनप्रतिनिधिले संयुक्त रुपमा सोमैलाई ठेला हस्तान्तरण गरेको वडासचिव सन्तोष थापाले जानकारी दिए ।
नगरप्रमुख अर्यालले आयआर्जनको बाटो खुला गर्न वडाले ठेला दिएर सहायता प्रदान गर्नु उदाहरणीय काम भएको भन्दै खुशी व्यक्त गरे । उनले समाजमा शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । सडकपेटीमा मागेर खानु भन्दा परिश्रम गरेर खानु उचित हुने उनले बताए ।
ठेलामै विभिन्न व्यवसाय संचालन गरेर दैनिक जीवन निर्वाह होस् भन्ने उद्देश्यले फलामे ठेला प्रदान गरिएको वडाध्यक्ष पौडेलले बताए । वडाले सम्पुर्ण नागरिकलाई समान तवरले हेरेको बताउँदै उनले भने, ‘अपाङ्ग होस्, वा सपाङ्ग सबैलाई वडाले प्राथमिकता दिएको छ । आवश्यकताको पहिचान गरेर मूल्याङ्कन गछौं ।’
शारिरीक रुपमा अशक्त भएकाहरु पनि समाजको एक अभिन्न अंग भएको उनले बताए । आगामी दिनमा पनि वडाले फरक क्षमता भएकालाई प्राथमिकता दिएर अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
ठेला पाएपछि सोमैले खुशी व्यक्त गर्दै अब आफ्नै व्यवसाय गरेर जीविकोपार्जन गर्ने बताएका छन् । वडाले आफुलाई जीवन जिउने साहरा दिएको उनको भनाई छ ।








