गृहपृष्ठ Featured उचित क्षतिपूर्तिको माग राख्दै पाल्पा-बुटवल सडकमा अवरोध

उचित क्षतिपूर्तिको माग राख्दै पाल्पा-बुटवल सडकमा अवरोध

पाल्पा ।

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध गराएका छन् ।

प्रहरी कार्यालयमा दिनभर वार्तामा बसेका पीडित पक्षको कुरा नमिलेपछि उचित क्षतिपुर्तिको माग राख्दै साढे ३ बजेदेखि राजमार्ग बन्द गरेका हुन् । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छत्रकोट–३ हर्दिनेटाका ३० वर्षीय जीवन पन्तको मृत्यु भएको थियो ।

पीडित परिवार र आफन्तले राजमार्गमा रुखका हाँगा तेर्साएर मृतकले प्रयोग गरेको हेलमेट, जुत्ता सडकमा राखेर नाराबाजी गर्दै सडक अवरुद्ध पारेको स्थानीय कृष्णप्रसाद पाण्डेयले जानकारी दिए ।

पीडितले टिपर आतंक बन्द हुनुपर्ने, टाईम कार्ड लागू हुनुपर्ने, टिपर चालक र मालिकलाई कारबाही हुनुपर्नेलगायत माग राखेर सडक बन्द गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

टिपरधनीको प्रतिनिधि उपस्थित भइसकेको र छलफलका लागि टिपरका मालिकसमेत आइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि पहाडबाट तराई झरेका र तराईबाट पहाडी जिल्लामा हिँडेका सयौं यात्रु, सवारी साधन सडकमै अलपत्र परेका छन् । एकाएक राजमार्ग बन्द भएपछि यात्रुहरू सडकमा अलपत्र परेको बुटवलबाट पाल्पा रामपुर हिडेका प्रकाश ज्ञवालीले बताए ।

सम्बन्धित् समाचार