वैखरी अनलाईन, कपिलवस्तु ।
छोटी भन्सारबाट मुल भन्सारका रूपमा स्तरोन्नति भएको कपिलवस्तुस्थित सुठौली भन्सार कार्यालयका कर्मचारीहरुले लुटतन्त्र मच्चाएको पाईएको छ । उक्त भन्सार कार्यालयका कर्मचारीहरुले भन्सार नाका हुदैं नेपाल प्रवेश गर्ने हरेक गाडीबाट पैसा असुल्ने गरेको तथ्य बाहिरिएको हो । भन्सार कार्यालयका प्रमुखदेखि सुब्बासम्मका कर्मचारीले पैसा नदिए कामै नगर्ने भन्ने गरेको पाईएको छ ।
जसको फलस्वरुप भन्सार एजेण्टले व्यवसायीबाट पैसा उठाएर सेटिङ्ग मिलाउने गरेका छन् । भन्सार कार्यलयबाट सामान चेकजाँच गरि राजश्व शुल्क बुझाएर भन्सार पास भएका गाडिबाट भन्सारका कर्मचारीको एक समूहले हरेक गाडीबाट न्युनत्तम २ हजार उठाउने गरेको स्रोतले वैखरीलाई जानकारी दिएको छ ।
यसरी उनीहरुले दैनिक एक लाख घुस खाने गरेको स्रोतको दाबी छ । कर्मचारीको यो लुटतन्त्रले भन्सारका एजेण्टहरुले समेत अनावश्यक दुःख खेप्नु परेको एक एजेण्टले नाम नखुलाउने सर्तमा वैखरीलाई बताए ।
‘यहाँ (सुठौली भन्सार) का कर्मचारीले घुस नलिई काम गर्दैनन्, उनीहरुको मनोमानि छ,’ ती एजेण्ट भने, ‘ प्रज्ञापन पत्रको उनीहरुले वास्ता गदैनन् । उनीहरुको कारणले हामीहरुले दिनहुँ अनावश्यक सास्ती खेप्नुपर्छ ।’
वैखरीले यसबारे थप बुझ्न भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सर्तुङ्गीसंग फोन सम्पर्क गरेर बुझ्न खोज्दाँ ठोस जवाफ नदिई कार्यालयमै चिया गफका लागी आग्रह गरे ।










