गृहपृष्ठ खबर बाणगंगा- ७ द्धारा चौकीदारलाई लाईट, छाता र हातेमाईक

बाणगंगा- ७ द्धारा चौकीदारलाई लाईट, छाता र हातेमाईक

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिका वडा नम्बर ७ ले वडाभित्रका चौकीदारलाई विभिन्न आवश्यक सामग्री प्रदान गरेको छ । आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम अन्तर्गत विहिबार वडामा आयोजित एक कार्यक्रमका बीच चौकीदारलाई एक-एक थान लाईट, छाता र हातेमाईक वितरण गरिएको हो ।

‘एक चौकीदार, एक छाता, एक लाईट, एक हातेमाईक’ कार्यक्रम अन्तर्गत वडाभित्रका ४ जना चौकीदारहरुलाई आवश्यक सामग्री वितरण गरिएको वडा सचिव सन्तोष कुमार बैठाले जानकारी दिए ।

वडा तथा टोल विकास समितिका विभिन्न भेलाहरुमा वडावासीलाई खबर गर्न सहज होस् भन्ने उद्देश्यले चौकीदारहरुलाई ति सामग्री वितरण गरिएको वडाध्यक्ष विष्णु गिरीले बताए । वडावासीलाई सुचनाको हकको प्रत्याभूति दिलाउन यस्ता कार्यक्रमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘यस कार्यक्रम पश्चात अब वडाका भेला, छलफलमा वडावासीको सहभागितामा थप वृद्धि हुनेमा विश्वस्त छु ।’

चौकीदारले गाउँ गाउँमा खबर गर्दा वडावासीले जानकारी नै नपाएको व्यापक जनगुनासो आउने गरेको र त्यस समस्याको समाधान गर्न यस किसिमको कार्यक्रम गरिएको वडाध्यक्ष गिरीको भनाई छ ।

विपन्न विधार्थीलाई शैक्षिक सामग्री

बाणगंगा नगरपालिका वडा नम्बर ७ ले विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत १५ जना अति विपन्न विधार्थीहरुलाई विहिबार शैक्षिक सामग्री वितरण गरिएको हो । वडा सचिव सन्तोष कुमार बैठाले विद्यार्थीलाई झोला, ड्रेस, कापी र कलम वितरण गरिएको बताए ।

वडाध्यक्ष विष्णु गिरीले शिक्षामा सबैको सरल र सहज पहुँच होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । वडाध्यक्ष गिरीले समाजका हरेक वर्गको शिक्षामा उल्लेख्य सहभागिता बढाउन आवश्यक रहेको बताए । शिक्षा आर्जन गर्ने क्रममा आईपर्ने विविध समस्याको निराकरण गर्न वडा प्रतिवद्ध रहेको उनको भनाई छ ।

शिक्षा क्षेत्रलाई वडाले प्राथमिकता साथ हेरेको बताउँदै उनले भने, ‘आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सबै वर्गको पहुँच बढाउने कार्यक्रम ल्याएर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँछु ।’ आर्थिक अभावकै कारण शिक्षाबाट वडाभित्रका कोही पनि विधार्थीहरु बञ्चित हुने स्थिति आउन नदिने उनको जिकीर छ ।

शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गर्दै अब थप उत्साहका साथ अध्ययन गर्ने बताएका छन् । वडाले हरेक बर्ष विधार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्नुपर्ने उनीहरुको भनाई छ ।

अपाङ्गता भएका ६ जनालाई बाख्रा वितरण

बाणगंगा नगरपालिका वडा नम्बर ७ ले अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरेको छ । शारिरीक रुपमा अशक्त भएका वडाभित्रका ६ जनालाई विहिबार एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो ।

आर्थिक बर्ष २०७९/८० को लक्षित वर्गतर्फको कार्यक्रम अन्तर्गत उनीहरुलाई बाख्रा वितरण गरिएको वडा सचिव सन्तोष कुमार बैठाले बताए । अपाङ्गता भएका व्यक्तिहरु समाजका एक अभिन्न अंक भएका बताउँदै वडाध्यक्ष विष्णु गिरीले दैनिक जीवनयापनका लागी आयआर्जनको बाटो खोलिदिन वडाले उन्नत जातको बाख्रा (पाठी) वितरण गरेको बताए ।

उनले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न आग्रह गरे । वडामा रहेका सबै वर्गलाई वडाले समान दृष्टिकोणले हेरेको उनको भनाई छ ।

सम्बन्धित् समाचार