पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्। रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन गरिएको बताइएको हो।
किसानहरूले परम्परागत रूपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ। रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ। विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ। अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुनेछ।
पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय र पैसा बचत गर्नुका साथै उत्पादन पनि दोब्बर भएको बताए। उनले भने, ‘रेटुन धान सिजनमा दुईपटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको बचत गर्छ।’
जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल १ लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ। प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताए।
-सिन्ह्वा/न्युज एजेन्सी नेपाल








