काठमाडौं ।
सनी देओल स्टारर ‘गदर २’ ले आइतबार भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५०० करोड भारु कमाउने कीर्तिमान रच्दैछ । प्रदर्शनको २४ औं दिन आइतबार फिल्मले उक्त उपलब्धि हासिल गर्न लागेको बलिउड व्यापार समीक्षक तरण आदर्शले जनाएका छन् ।
५०० करोड भारु कमाउन शाहरुख खान स्टारर ‘पठान’लाई २८ दिन लागेको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो । तरणका अनुसार भारत-पाकिस्तानको कथावस्तुमा बनेको ‘गदर २’ ५०० करोड भारु कमाउने बाहुबली २ (हिन्दी संस्करण) र पठानपछि तेस्रो हिन्दी फिल्म बन्नेछ ।
सनीसहित अमिषा पटेल र उत्कर्ष शर्माको मुख्य भूमिका रहेको फिल्मले शनिबारसम्म ४९३ करोड भारु कमाएको छ । २३ औं दिनमा यसले ६ करोड भारु कमाएको थियो । शनिबार अभिनेता देओलले मुम्बईमा फिल्मको सक्सेस पार्टीको आयोजना गरेका थिए ।
उक्त पार्टीमा शाहरुखसहित आमिर खान, सलमान खान, विक्की कौशल, शाहिद कपुर, अनिल कपुर, अनुपम खेर लगायत सहभागी थिए । साथै, सिद्धार्थ मलहोत्रा, कियारा आडवाणी, शिल्पा सेट्ठी, साराअली खान, वरुण धवन, अर्जुन कपुर, अनन्या पाण्डे पनि उपस्थित पाहुनामध्ये थिए ।
पहिलो दिन ४०.१ करोड भारु कमाउँदै अनिल शर्मा निर्देशित फिल्मले प्रदर्शनको थालनी गरेको थियो । शाहरुखको ‘पठान’पछि यो फिल्म सन् २०२३ को दोस्रो ठूलो ओपनर बनेको थियो । ‘गदर २’ बलिउडको तेस्रो सर्वाधिक कमाउने ग्रसर फिल्मको रुपमा छ । यो फिल्म सन् २००१ को फिल्म ‘गदर : एक प्रेम कथा’को दोस्रो श्रृंखला हो ।