काठमाडौं ।
शाहरुख खान स्टारर ‘जवान’ले भारत र नेपालसहितका अन्तर्राष्ट्रिय बजारमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । भारतमा मात्र रिलिज अगावै तीन लाख ९१ हजारभन्दा बढी टिकट बिक्री भएको र पहिलो दिन त्यहाँ ७० करोड भारु हाराहारीको ओपनिङ हुने जनाइएको छ ।
बलिउड ट्रेड एनालिस्ट अतुल मोहनले भारतका सबै भाषामा फिल्मको कमाइ ७० करोड भारु हुने बताएका छन् । हिन्दी संस्करणमा मात्र फिल्मले ‘पठान’को ओपनिङलाई उछिन्ने उनको अनुमान छ । व्यापार विश्लेषकका यी प्रक्षेपण एड्भान्स टिकट बिक्रीको आधारमा गरिएका हुन् ।
शाहरुखको अघिल्लो फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ५७ करोड भारुको ओपनिङ गरेको थियो । भारतमा बिहान ५ बजेदेखि नै शोहरु तय गरिएका छन् । अग्रिम टिकट बिक्रीमै फिल्मले २७ करोडको व्यापार गरिसकेको कोइमोइले उल्लेख गरेको छ । बुधबार बेलुकासम्म भारतमा अग्रिम टिकट बिक्री संख्या १० लाख पुग्ने अनुमान छ ।
भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुन लागेको विश्व नेताहरुको सम्मेलन जी–२० भेलाले पनि ‘जवान’को शो प्रभावित नहुने जनाइएको छ । भारतबाहेक अमेरिका, अष्ट्रेलिया, युरोप र मध्यपूर्व लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत जवानले आक्रामक ओपनिङ गर्ने अनुमान छ ।