गृहपृष्ठ Featured भ्वाइस अफ नेपाल : ‘ब्लकबस्टर’ ब्याटलमा कोचदेखि दर्शकसम्म भावविह्वल

भ्वाइस अफ नेपाल : ‘ब्लकबस्टर’ ब्याटलमा कोचदेखि दर्शकसम्म भावविह्वल

काठमाडौं ।

त्यहाँ के मात्र थिएन, जीवन्त फिल्ममा हुनुपर्ने सबथोक । पात्र, घटना, द्वन्द्व, सस्पेन्स, संवेदना, तनाव र क्लाइमेक्स । शुक्रबार प्रसारित भ्वाइस अफ नेपालको ब्याटल राउण्डको पहिलो एपिसोडमा यी सबै तत्व थिए ।

दुई घण्टा लामो फिल्मले भन्न नसकेको कथा ‘भ्वाइस अफ नेपाल’को १५ मिनेटको ब्याटलले भनिदिएको थियो । टेलिभिजन रियालिटी शोको सौन्दर्य नै यही हो । गायक बन्ने सपना बोकेर भ्वाइसको स्टेजमा उभिएका प्रशान्त सिवाकोटरी र रोजिना बस्नेतले ब्याटलमा कोचदेखि होस्ट र दर्शकको आँखामा आँसु बगाइदिए ।

उनीहरुको प्रस्तुतिमा मिसिएको यो गायन सामर्थ्यले कोच र दर्शकलाई ‘नोस्टाल्जिक’ बनाइदियो । तुलसी घिमिरे निर्देशित फिल्म ‘लाहुरे’मा समावेश कालजयी गीत ‘पहाडको माथि माथि घुम्दै उडेर’मा यी दुईले ब्लकबस्टर प्रस्तुति दिए ।

उनीहरुको प्रस्तुति हेर्दा दर्शकले नारायणगोपाल र आशा भोस्लेलाई सम्झिए । प्रशान्त र रोजिनाको यो ब्याटलमा कोच उदय र प्रमोद खरेलले ‘स्ट्यान्डिङ ओभेसन’ दिए ।

कोच उदयले ब्याटलमा रोजिनालाई रोजेपछि स्टेजबाट बाहिरिन लागेका प्रशान्तलाई कोच प्रमोदले ‘स्टिल’ गरिदिए । भ्वाइस स्टेजमा यो दुर्लभ दृश्य हो । संवेदना छचल्किएको दृश्यमा उदयदेखि होस्ट सुशील नेपालले समेत आफूलाई सम्हाल्न सकेनन् । आफ्नो समूहका प्रतिस्पर्धीलाई स्टिल गरिदिएपछि उदयले प्रमोदलाई अँगालो हाले ।

प्रमोदले स्टिल गरेपछि जोगिएका प्रशान्तले आफ्नो पुनर्जन्म भएको बताए । ‘पुनर्जन्म भएको छ मेरो भ्वाइसमा । जानुअघि धेरै कुरा सोचिरहेको थिएँ । इमान्दार भएर भन्दा म फ्युचर प्लान गर्दै थिएँ स्टेजमा बोल्दाबोल्दै । अहिले चाहिं म रित्तो भएको छु । बेलाबेलामा झसंग भएको छु । फर्किएर गइसकेको मान्छे, फेरि आउन पाएँ । यो जिन्दगीको सबैभन्दा खुसीको पल हो,’ प्रशान्तले हर्षका आँसु झार्दै भने ।

लगत्तै प्रमोदले आफ्नो मनसाय खुलाए, ‘प्रस्तुति र उदयको कोचिङ हेरेर जसलाई पनि स्टिल गर्थें । दुवै आउट हुनुहुँदैन भन्ने थियो ।’

सम्बन्धित् समाचार