गृहपृष्ठ Featured पाल्पाको सत्यवतीमा लागेको मेलाबाट साढे १८ लाख भेटी संकलन

पाल्पाको सत्यवतीमा लागेको मेलाबाट साढे १८ लाख भेटी संकलन

पाल्पा ।

पाल्पाको सत्यवती तालमा लागेको मेलाबाट १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ भेटी संकलन भएको छ । पाँच दिनसम्म चलेको मेलामा संकलित रकम दान पेटिकामा संकलन गरिएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए ।

तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको सहभागितामा भेटी गणना गरिएको हो । समितिले पाँच दिनको मेला व्यवस्थापन गरेको र ६/७ स्थानमा राखिएका दानपात्रमा संकलन भएको रकम निकालेर गणना गरिएको हो । १ लाख ५० हजारभन्दा बढी श्रद्धालुले मेला भरेको समितिको दाबी छ ।

श्रद्धालुले चढाएको रकम संकलन साथै अधिकांश श्रद्धालुले दानपात्रमा राखे पनि कतिपयले बाहिर फालेको भेटिएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

तालको वरपर सबै स्थानमा पैसा भेटिएको छ । ५, १०, २०, ५०, १००, ५००, १००० दरका नोट भेटिएका थिए । विगतमा नोट मिलाउन र गन्नका लागि कम्तीमा तीन दिन चाहिन्थ्यो । यसपटक गाउँकार्यपालिकाले भेटी गणनाका लागि कर्मचारी खटाएकाले एकै दिनमा सकिएको समिति अध्यक्ष गाहाले बताए ।

सम्बन्धित् समाचार