सागर वि.क., वैखरी अनलाईन ।
श्री गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार शितगंगा नगरपालिका- १४ विक्रममा रहेको सहकारीको आफ्नै भवनको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका सदस्य सरोज खनालले कृषि पालनमा जोड्न सके मात्र प्रशस्त रोजगारी सिर्जना हुने बताएका छन् ।
उनले लुम्बिनी प्रदेश पाँच बर्षीय योजना निर्माणको चरणमा रहेको बताए । समग्र प्रदेश विकासको लागी कृषि, पर्यटन, उद्योग र वनलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।
गंगाजल सहकारी सहकारीका मूल्य मान्यतालाई आत्मासाथ गर्दै अघि बढेर नमुना सहकारीको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा परिचित हुदैं गएकोमा उनले खुशी व्यक्त गरे । सहकारीले महिला शक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै महिलाहरुलाई आत्मनिर्भर बन्नतर्फ अग्रसर गराएको उनले बताए ।

शितगंगा नगरपालिका- १४ का वडाध्यक्ष दामोदर न्यौपानेले कृषि तथा पशुपालनका क्षेत्रमा गंगाजलले गरेका कार्य प्रशंसनीय रहेको बताए । उनले सहकारी देश विकासको मेरुदण्ड भएको बताए । यस सहकारीलाई यहाँसम्म स्थापित गर्न धेरै परिश्रमले मात्र सम्भव भएको उनले स्मरण गर्दै भने, ‘महिलाहरुलाई सहकारीमा आवद्ध गरेर बाख्रा पालन गर्न उर्जा प्रदान गर्न सुरुवाताी चरणमा धेरै कठिनाई भएको थियो ।’
वडाध्यक्ष न्यौपानेले वडा विगतदेखि नै सहकारीसंग सहकार्य गरेर अघि बढेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहरुको मिहेनत्त र लगनशिलताले सहकारी उत्कृष्ट बन्न सफल भएको भन्दै खुशी व्यक्त गरेका थिए ।

संस्थाकी व्यवस्थापक कृष्ण दर्लामीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष सिता लामिछानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । सो क्रममा उनले सहकारीले एक बर्ष भित्र गरेका क्रियाकलाप तथा उपलब्धीहरु समेत जानकारी गराएकी थिईन् ।

२०७५ साल जेठ ३१ ग्ते विधिवत रुपमा स्थापना भएको यस सहकारीमा हाल ६१० जना शेयर सदस्यहरु रहेका छन् ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता, गरिब, जेहेन्दार विधार्थीहरु सम्मान गरिएको थियो । उक्त कार्यक्रममा साँस्कृतिक कार्यक्रममार्फत समेत मनोरञ्जन प्रदान गरिएको थियो ।











