गृहपृष्ठ Featured भारतीय हस्तीहरूलाई चकित पार्दै नेपालकी मेनुका पौडेल

भारतीय हस्तीहरूलाई चकित पार्दै नेपालकी मेनुका पौडेल

झापा ।

नेपाली गायिका मेनुका पौडेलले आइतबार साँझ प्रसिद्ध गायिका लता मंगेस्करले गाएको गीत गाएर सबैलाई चकित बनाइन् ।

भारतीय टिभी च्यानल सोनी इन्टरटेन्मेन्टबाट प्रसारित इन्डियन आइडलमा प्रतियोगीको रुपमा रहेकी मेनुकाले अहिले वाहीवाही मात्र कमाएकी छैनन्, धेरैजसो समय निर्णायक तथा दर्शकलाई रुवाउँदै आएकी छन् ।

आइतबार उनले पहिला ‘चन्दनसा बदन, चन्दन चितवन….’ गीत गाएकी थिइन् । अर्को गीत गाएपछि उनले निर्णायक तथा अतिथिलाई आफ्नै हातले बनाएको खीरसमेत खुवाइन् ।

उनका हरेक प्रस्तुति टिभी च्यानलको फर्मेट अनुसार ‘हिट से ज्यादा लिट है’ रहँदै आएका छन् । अर्थात् उनका प्रस्तुतिहरू उत्कृष्ट रहँदै आएका छन् ।

अडिसन राउन्डममै गायिका मेनुकाको प्रस्तुतिमा निर्णायकद्वय: श्रेया घोसवाल र विशाल धर्धरी रोएका थिए ।

विशालले त मेनुकाको गीत सुन्न थालेपछि बल्ल संगीत सुन्न थालेको महसुस भएको बारम्बार बताउँदै आएका छन् । अहिले मेनुकाको प्रस्तुति आउन पाउँदैन भारतीय समाजिक मेनुकाको प्रस्तुतिको तारिफ गर्न समय खर्चिने गरेका छन् । दुई साता अघिको प्रस्तुतिमा गायिका साधना सरगम मेनुकालाई अंगालो हालेर रोएकी थिइन् । अभिनेता रणवीर कपुरले त उनको खुट्टा छोएर आशीर्वाद मागे ।

उनी चार वर्षअघि अर्को रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिन गएकी थिइन् । त्यो बेला उनले प्रशस्त ख्याती कमाएकी थिइन् ।

इन्डियन आइडलको मञ्चमा जब उनले ‘जिए तो जिए……’ गीत गाइन्, उक्त गीतकी गायिका अनुराधा पौड्वालका आँखा टिल्पिलाएका थिए ।

गायिका पौड्वालले मेनुकालाई भनिन्,’साईबाबाको आशीर्वाद तिमीलाई छ । तिमीले एकदमै राम्रो गायौं ।’

हरेक एपिसोडमा मेनुकाले नै उच्च स्कोरसहित स्ट्यान्डिङ अवेसन पाउँदै आएकी छन् ।

२०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । सामान्य आर्थिक अवस्था भएका बुवाआमाले उनलाई आँखा विसेक पार्न हरसम्भव प्रयास गरे ।

अस्पतालदेखि धामी-झाँक्री सबैतिर धाउँदा पनि केही लागेन । अन्ततः ४ वर्षको उमेरमै उनलाई बुवाले झापा गरामनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर राखिदिए ।

उनी आफैं लड्दै संघर्ष गर्दै संगीत प्रशिक्षकहरूसंग पुगिन् र संगीत सिक्न थालिन् । संगीत प्रशिक्षक कुशेश्वर राई, अनिल फागोबाट उनले संगीतको प्रारम्भिक शिक्षा लिएकी हुन् ।

नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा व्यापक प्रशंसा बटुलिरहेकी छन् । निर्णायकहरू भावुक मात्र होइन मेनुकाको गायकी सुनेर आश्चर्यचकित हुने गरेका छन् ।

मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

सम्बन्धित् समाचार