गृहपृष्ठ कपिलवस्तु बिशेष १४ औं कपिलवस्तु महोत्सवको सबै तयारी पुरा

१४ औं कपिलवस्तु महोत्सवको सबै तयारी पुरा

सागर वि.क., वैखरी अनलाईन ।

१४ औं कपिलवस्तु महोत्सव जिल्लाको बाणगंगा नगरपालिकाको चारनम्बरस्थित बुद्धरंशालामा भोलिदेखि सुरु हुदैं छ । मुख्यतः यस क्षेत्रको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले महोत्सव हुन लागेको हो ।

स्थानीय उत्पादन प्रवर्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ महोत्सव हुन लागेको महोत्सवको आयोजक संस्था बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष तथा महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी बताए । सामान्य प्राविधिक काम बाहेक महोत्सवको करिब सबै तयारी पूरा भएको उनले बताए । भोलिदेखि सुरु हुने महोत्सव आगामी पुस १ सम्म सञ्चालन हुने छ ।

महोत्सवमा औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादन, प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने संयोजक खाँणले बताए ।

“युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव कपिलवस्तुको व्यवसाय र पर्यटन क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।

महोत्सवमा करिब ३०० स्टल रहने छन् ।

कपिलवस्तुसहित अन्य जिल्लामा रहेका उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्धनका लागि आयोजकले विशेष प्रबन्ध मिलाएको महोत्सवका निर्देशक समेत रहेका बाणगंगा वेलफेयर सोसाईटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्रीले बताए ।

उनले यसपटकको महोत्सवलाई ऐतिहासिक बनाउने गरि संचालन गर्न लागिएको बताए । उनले महोत्सवलाई कपिलवस्तुकै उत्सावका रुपमा स्थापित गर्ने गरि तयारी भएको बताए । कम्पाण्ड, स्टल, सचिवालय, बालउद्यान निर्माणको काम सम्पन्न भएको उनले जानकारी दिए । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने बताए ।

आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिमार्फत सम्पन्न भएको बताउँदै उनले भने, ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त छौं ।’

महोत्सवमा डेढ लाख दर्शन भित्राउँदै करिब करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवर्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित् समाचार