गृहपृष्ठ Featured नमुना पालिका बनाउने संकल्पसहित कृष्णनगरको नगरसभा सम्पन्न

नमुना पालिका बनाउने संकल्पसहित कृष्णनगरको नगरसभा सम्पन्न

कपिलवस्तु, २३ पुस ।

‘कृष्णनगर नगरपालिकाको प्रतिबद्धता—सुशासन, स्वास्थ्य, समृद्धि र खुशी जनता’ भन्ने नारासहित कृष्णनगर नगरपालिकाको १५औँ नगरसभा सम्पन्न भएको छ।

नगरसभाको उद्घाटन नगरप्रमुख रजत प्रताप शाहले पानसमा दीप प्रज्वलन गर्दै गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख शाहले कृष्णनगर नगरपालिकालाई समृद्ध र विकसित नगरको रूपमा स्थापित गर्न नगरपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो। उहाँले नगरलाई नमुना नगरपालिकाको रूपमा विकास गर्न सबै सरोकारवाला पक्षको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

नगरसभामा उप–नगरप्रमुख आरती देवी चौधरीले प्रस्तुत गर्नुभएको राजस्व परामर्श समितिको प्रतिवेदन, आर्थिक ऐन २०८२ संशोधन प्रस्ताव तथा गाउँ ब्लक मिन्हाडिई जग्गाको सिफारिस गर्दा प्रतिधुर एक सय रुपैयाँ शुल्क लिने संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ।

आर्थिक विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षका लागि ३ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिए पनि नगरपालिका केन्द्र तथा १२ वटै वडाबाट हालसम्म ९५ लाख ५४ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको जानकारी दिइयो। यसैगरी चालु आर्थिक वर्षका लागि कुल ७६ करोड ७६ लाख ३७ हजार रुपैयाँ आम्दानी प्रस्ताव गरिएकोमा हालसम्म ४१ करोड ४६ लाख ८० हजार रुपैयाँ वास्तविक आम्दानी भएको छ।

सो अवधिमा ११ करोड ६४ लाख १६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ। चालु आर्थिक वर्षमा कुल ७८ करोड ८१ लाख ९० हजार रुपैयाँ संशोधित आम्दानी हुने अनुमान गरिएको छ।

यसैगरी न्यायिक समितिका सदस्य हरिपाल चुर्तुबेदीले चालु आर्थिक वर्षमा ६ वटा उजुरी दर्ता भएकोमा हालसम्म १ वटा मात्र उजुरी फछ्र्योट भएको विवरणसहितको प्रतिवेदन पेश गर्नुभएको थियो।

नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षता तथा ईश्वरी पौडेलको सञ्चालनमा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटालगायत नगरसभा सदस्य, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित् समाचार