काठमाडौं ।
विश्व फुटबल महासंघ (फिफा)ले यो वर्षको वर्ष खेलाडी अवार्डका लागि अन्तिम तीन जनाको मनोनयन सार्वजनिक गरेको छ।
पुरुषतर्फ लियोनल मेस्सी, केलियन एमबाप्पे र एर्लिङ हालान्ड छन् । मेस्सीले विश्वकप जितेका थिए भने एमबाप्पे फाइनलसम्म पुगेका थिए।
हालान्डले घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्। त्यसअघि पहिलो चरणमा १२ जनाको नाम सर्टलिस्ट गरिएको थियो।
महिलातर्फ सन् २०२२ को अगष्ट १ देखि सन् २०२३ को अगष्ट २० सम्मको प्रदर्शनलाई आधार मानिने छ।
राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकले भोट गरी विजेताको टुंगो लगाउनेछन् । एमबाप्पे र हालान्डले हालसम्म फिफा वर्ष खेलाडी अवार्ड जित्न सकेका छैनन्।
मेस्सी आठौँपटक फिफा वर्ष खेलाडी बन्ने प्रयासमा छन्। उनले अर्को प्रतिष्ठित अवार्ड बेलोन डीअर यो सिजन जितिसकेका छन्। उनले यो अवार्ड आठौँपटक हात पारेका हुन्।