वैखरी अनलाईन, बाणगंगा ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो केन्द्रिय वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलबार उक्त कार्यक्रम केन्द्रिय कार्यालय बाणगंगा नगरपालिका-१ चारनम्बर स्थित सभाहलमा सम्पन्न भएको हो । केन्द्रिय साधारणसभामा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक लेखा प्रतिवेदन लगायत सम्पुर्ण प्रतिवेदन पारित भएको छ ।
सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले सहकारीलाई उत्पादन र सदस्यमुखी बनाएर पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए ।

उनले सहकारीमार्फत सहकारीका सदस्यहरुको उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले बहुउद्देश्यीय सहकारीहरुले अब बचत तथा ऋणको मात्र कारोवार नगरि उत्पादनमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
उनले शेयर सदस्यहरुको आर्थिक स्तर उकास्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले सहकारीले स्थानीयस्तरका समुदायकोे आर्थिक स्तर उकास्नका लागि अहम भुमिका खेलेको बताए ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको आर्थिक विकासका निम्ति सहकारीहरुको अहम भुमिका रहेको भन्दै नगरपालिकाले अनुगमन र नियमन गरिरहेको बताए । नगरपालिकाका सहकारीहरुमा आर्थिक हिनामिना नभएको र सबै सहकारी स्थानीय सरकार मातहत नै सञ्चालन भईरहेको उनले बताए ।
उपप्रमुख रिता कुमारी चौधरीले सहकारीका सञ्चालक समिति, केन्द्रिय कार्यालय यसै स्थानमा रहेकाले अन्य सहकारी जस्तो आर्थिक अनियमितताका नघटने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सिनर्जी प्रदेशकै एक भरपर्दो सहकारीका रुपमा विकास भएको बताएका थिए ।
सहकारीका अध्यक्ष बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कृष्ण प्रसाद न्यौपानेले गरेका हुन् ।
साधारण सभामा ज्येष्ठ सदस्य, असल बचत कर्ता, असल ऋणि, असल बाल बचत कर्ता, पत्रकार, जेहेन्दार विद्यार्थीलाई सम्मान समेत गरिएको छ ।








