रुपन्देही ।
लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने निश्चित भएको छ । केन्द्रमा बनेको सत्तारुढ दलहरुको सहमतिअनुसार लुम्बिनी माओवादीलाई भाग परेको हो ।
कर्णालीमा माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले राजीनामा दिएसँगै लुम्बिनीमा महरालाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । कर्णालीमा पनि एमालेले सरकारको नेतृत्व गर्न निश्चित जस्तै भएको छ ।
लुम्बिनीमा एमालेले माओवादीभन्दा तेब्बर बढी सांसद भएकाले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर, केन्द्रको सहमतिपछि उसले नेतृत्व नपाउने भएको हो । सरकारको नेतृत्व गर्न लागेको माओवादीले गठबन्धनमा रहेका सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको र अहिलेका मुख्यमन्त्रीले मार्गप्रशस्त गरेपछि दाबी पेश गर्ने जनाएको छ ।








