नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन्। २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ।
वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश सो ‘हाउसफुल’ छन्। नयाँ वर्षमा दर्शकले नेपाली चलचित्र हेर्न चाहेको यसले प्रमाणित गरेको छ। डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा छन्। युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको हो।
डिग्री माइलामा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्। कलाकारहरूले हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। प्रदर्शन गरिएको अर्को चलचित्र ‘द रेड सुटकेस’मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ। चलचित्रमा अभिनेता विपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन्।
चौथो सातामा प्रदर्शनरत चलचित्र ‘महाजात्रा’मा दर्शकको उपस्थिति घटेको छैन। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ।
निर्माता दीपेश खत्रीले तीन सातामा नेपालमा १४ करोड र विदेशमा नौ करोडसहित विश्वभर २३ करोडको व्यापार (ग्रस कलेक्सन) गरेको उनको दाबी छ। आज १ गते तीनै नेपाली चलचित्रको सो भरिभराउ भएकाले कुल रु. तीन करोडबराबरको व्यापार गर्ने अनुमान वितरकको छ।