वैखरी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुका जिल्लाका प्रत्येक नागरिकलाई सर्पले टोक्दाँ उपचारमा लाग्ने खर्च निःशुल्क हुने भएको छ । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको नेतृत्व तथा जिल्लाका सबै पालिकाको समवन्यमा सर्पको टोकाईबाट हुने विरामीलाई लाग्ने खर्च निःशुल्क हुन लागेको हो ।

सर्प दंश उपचार केन्द्र गोरुसिंगेमा बुुद्धभूमि नगरपालिकाका नगरप्रमुख श्रेष्ठको सक्रियतामा कपिलवस्तु जिल्लाका १० वटै पालिकाका नागरिकलाई सर्पदंशको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रक्रिया थालनी भएको हो ।
सोही अनुरुप हाल बुद्धभूमिसहित कपिलवस्तु, शिवराज, वियनगर र शुद्धोधनका नागरिकलाई सर्पदंशको निःशुल्क उपचार गराउने प्रक्रिया कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगिसकेको छ । बुद्धभूमिवासीलाई सर्प दंश उपचार निःशुल्क गर्न सर्प दंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नविन भण्डारीले नगरप्रमुख श्रेष्ठसंग निरन्तर पहल गर्दै आएका थिए ।

त्यसपछि नगरप्रमुख श्रेष्ठले बुद्धभूमिसहित जिल्लाकै १० वटै पालिकाका नागरिकलाई यो सेवा दिन आवश्यक रहेको भन्दै त्यसका लागी ठोस कदम चालेका हुन् । फलस्वरुप हाल निःशुल्क उपचारको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
व्यवस्थापक भण्डारीले अधिकांश सर्पले टोक्ने परिवारका सदस्य आर्थिक अवस्था कमजोर भएका गरिब, विपन्न परिवार हुने र उनीहरुलाई औषधी किन्न समेत धौधौ पर्ने अवस्था आउने गरेको सुनाए । उनले नगरप्रमुख श्रेष्ठले थालेको यो प्रयासको कार्यान्वयनपछि जिल्लावासी सबैलाई उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।
यसैबिच जिल्लाका अन्य पालिकाका प्रमुखहरुले समेत यो पहल निकै नविनतम सोचका साथ आएकाले यसको कार्यन्वयनका लागी आफहरु लाग्ने प्रतिबद्धता समेत जनाएका जनाएको पाइएको छ ।








