स्वर्गद्वारी ।
प्युठानको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उनलाई भ्याइनभ्याइ छ ।
‘तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ’, किसान घर्तीमगरले भने । परम्परागत धानको बीउलाई त्यागेर उन्नत जातको धान रोप्दा उत्पादन वृद्धि हुनुका साथै बीउको बिक्रीबाट आम्दानीमा बढेपछि चैतेधान लगाउन थालेको उनले बताए ।
घर्तीमगरजस्तै माण्डवी गाउँपालिका–५ का ९४ किसानले छ सय ५० रोपनीभन्दा बढीमा यस वर्ष चैतेधान लगाएका छन् । कतिपय किसानले भित्र्याइसकेका छन्भने कोही भित्र्याउने तयारीमा छन् । धान भित्र्याएका खेतमा बर्खेधान रोप्न बीउ तयार भइसकेको छ ।
जिल्लामा प्युठान नगरपालिकाको झिमरुक फाँट, ऐरावती गाउँपालिकाको गोठिवाङ, सरङबेँसी, डाबरा फाँट, माण्डवी गाउँपालिकाको रुद्रपुर फाँट, मल्लरानी गाउँपालिका छापेखोलाका फाँट र स्वर्गद्धारी नगरपालिका केही स्थानमा चैतेधान हुँदै आएको छ ।