गृहपृष्ठ Featured नेपाललाई तेस्रोपटक काभा नेसन्स लिग जित्ने अवसर

नेपाललाई तेस्रोपटक काभा नेसन्स लिग जित्ने अवसर

लगातार दुईपटक च्याम्पियन भएको नेपाल गत संस्करणमा भारतसँग पराजित हुँदा काभा नेसन्स लिगमा ह्याट्रिक उपाधिबाट चुकेको थियो । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को चौथो संस्करण बिहीबारदेखि दशरथ रंगशालाको कभर्ड हलमा हुँदै छ ।

नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्नेछ । घरेलु कोर्टमा नेपालसमक्ष उपाधि घरमै फर्काउने अवसर छ । अरुणा शाहीको कप्तानीमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले दुई महिनादेखि प्रशिक्षण गरेको छ ।

नेपालसहित साबिक विजेता भारत तथा श्रीलंका, इरान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालले पहिलो दुई संस्करणकै लयमा प्रतिस्पर्धा गर्ने योजना छ । टोलीमा अनुभवी र प्रभावशाली स्पाइकर प्रतिभा मालीको साथ हुनेछैन । प्रशिक्षक जगदीश भट्टले प्रतिभाको कमी आउन नदिने योजनाका साथ खेलाडीले तयारी गरेको बताए ।

काभामा भारतलाई दुईपटक पराजित गरेको नेपालले चौथो संस्करणमा पनि हराउन सक्ने विश्वास खेलाडीसँग रहेको प्रशिक्षक भट्टले बताए । ‘हामी भारतसँग दुईपटक हारिसकेका छौँ । यसपटक खेलाडीले भारतलाई हराउन सक्ने विश्वास लिएका छन्,’ उनले भने । नेपालले प्रतियोगिताअघि रसियाको टोलीविरुद्ध दुई खेल खेल्यो । रसियन खेलाडीसँग नेपाल रणनीतिक र शारीरिक रूपमा कमजोर देखिएको थियो ।

रसियासँग दुई खेलमै सोझो सेटमा पराजित भए पनि नेपालले अन्तर्राष्ट्रिय म्याच एक्सपोजर लिएको थियो । नेपालकी स्पाइकर उषा भण्डारी दुई मैत्रीपूर्ण खेलका कारण मनोबल उच्च रहेको बताउँछिन् । ‘हामीले ओलम्पिकमा पदक जितेको टोलीविरुद्ध खेल्यौँ । दुवै खेलमा हार बेहोरे पनि मनोबल उच्च भएको छ,’ भण्डारीले भनिन्, ‘सो खेलबाट धेरै सिक्ने अवसर पायौँ ।’ सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद (साग)मा भारतसँग फाइनलमा पराजित हुँदा नेपालले रजत पदकमा चित्त बुझाएको थियो । लगातार दुई सेट जितेर पनि नेपालले त्यसपछिका तीन सेटमा हारको सामना गरेको थियो ।

भारतले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–२ को सेटमा बाजी मार्दै स्वर्ण जितेको थियो । त्यसपछि भएको भेटमा पनि भारतसँग ३–१ ले नै पराजित भएको हो । कप्तान अरुणा पनि प्रतियोगितामा उपाधि जित्ने उद्देश्यका साथ खेल्ने बताउँछिन् । उनी एभरेस्ट भलिबल क्लबलाई एनभिए लिग जिताउँदा तिनै भारतीय खेलाडीका सहकर्मी थिइन् । त्यसले पनि सहज हुने कप्तान शाहीको बुझाइ छ ।

सम्बन्धित् समाचार