साफ यू २० च्याम्पियनसिपको उद्घाटन खेलमा आइतबार नेपालले श्रीलंकालाई पराजित गरेको छ । प्रतियोगितामा सुखद् सुरुवात गर्ने क्रममा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पाखा लगाएको हो ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा भएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । नेपालका लागि राजन धामीले गरेको गोल निर्णायक बन्यो ।
सन् २०१५ मा एन्फा मैदानमा साफ यू १९ आयोजना हुँदा नेपाली टोली च्याम्पियन बनेको थियो ।
दशरत रंगशालाको अवस्था अहिले पनि खराब रहेका कारण एन्फाले साफ यू २० आफ्नै मैदानमा आयोजना गरेको हो । समूह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।








