गृहपृष्ठ खबर बाणगंगाका मुख्य बजार क्षेत्रमा संयुक्त अनुगमन : अखाद्य वस्तु नष्ट गर्दै जरिवाना

बाणगंगाका मुख्य बजार क्षेत्रमा संयुक्त अनुगमन : अखाद्य वस्तु नष्ट गर्दै जरिवाना

सागर वि.क., कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको छ । मंगलबार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीको नेतृत्वमा अनुगमन गरिएको हो ।

ओदारी, गजेहडा, चारनम्बरसहितका मुख्य बजार क्षेत्रमा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका निमित्त निर्देशक ईश्वर चन्द्र अर्यालले अनुगमनका क्रममा गुणस्तरहिन खाद्यपदार्थ फेला परेका मिष्ठान भण्डारलाई जरिवाना गरिएको बताए ।

बाणगंगा नगरपालिका- ११ ओदारीमा रहेको मुन्ना मिष्ठान भण्डारको अनुगमन गर्दा गुणस्तरहिन तेल, रसबरी र जेरी फेला परेको उनले बताए । उनले ति फेला परेका पदार्थलाई सोही समयमा नष्ट गरिएको बताए । उक्त मिष्ठानलाई उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी दिदैं यथाशिग्र सुधार गर्न निर्देशन दिईएको उनले बताए ।

उनले उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानुनअनुसार कारबाहीको दायरा ल्याउने चेतावनी दिए । उपभोक्ताहरुको हक अधिकारी संरक्षणमा सबै व्यवसायी गम्भिर हुनु पर्ने बताए ।

अनुगमन टोलीले मिष्ठान भण्डारसहित होटल, मासु पसल, खाद्य तथा किराना, बरफ उद्योग आदिमा अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत रमेश दाहालले जानकारी दिए । उनका अनुसार अनुमगन टोलीले म्याद सकिएका तथा अखाद्य पदार्थहरु जब्बर सुर्ती, कुरकुरे, डोनट, पाउरोटी, चाउचाउ, घ्यु, आईसक्रि लगायतका पदार्थ जफत गरि नष्ट गरेको छ ।

 

घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका वाणिज्य शाखा प्रमुख श्रवण कुमार शैनीले अनुगमनका क्रममा दर्ता नविकरण नभएको, गुणस्तरहिन खाद्य पदार्थको प्रयोग, सरसफाईको कमी, म्याद सकिएका सामानको विक्रि वितरण, मूल्यसुची नभएको जस्ता समस्या देखिएको बताए ।

उनले विगतमा गरिएका अनुमगनले केही सुधार भएपनि अझै सन्तोषजनक रुपमा उद्योगी व्यवसायीले सुधार नगरेको बताए । आफुहरुले अनुगमनका क्रमका बराम्बार सल्लाह सुझाव पनि दिने गरेको बताउँदै उनले भने, ‘विगतमा भन्दा केही सुधार देखिन्छ तर यो सन्तोषजनक छैन् । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने हक कसैलाई छैन् ।’

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुकी नासु सिता बन्जाडेले लापरवाही गर्ने पसलहरुलाई जरिवाना गरि आवश्यक सुधारका लागी निर्देशन दिईएको बताईन् ।

उक्त अनुगमन टोलीमा हिमलाल भुसाल, नेत्र प्रसाद भुसाल महेन्द्र प्रकाश भुसाल लगायत रहेका थिए ।

अनुगमनका क्रममा व्यवसायीहरुले विभिन्न चाडपर्वको अवसर पारी विना दर्ता, ऐन नियमको उलङ्घन गरि बाटोबाटोमा टेन्ट लगाएर व्यवसाय गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका थिए ।

सम्बन्धित् समाचार