गृहपृष्ठ खबर दसैं बिदा : हेर्नुस् ७ राम्रा नेपाली यी फिल्म (युट्युब लिंकसहित)

दसैं बिदा : हेर्नुस् ७ राम्रा नेपाली यी फिल्म (युट्युब लिंकसहित)

दसैंको बिदा छ, शुक्रबार पनि। समय मिलाएर फिल्म हेर्न रमाइलै हुन्छ। र, फिल्म हेर्न युट्युब सजिलो माध्यम हो।

तर युट्युबमा कुन फिल्म छ-छैन भन्ने थाहा नहुन सक्छ। यस्तै अलमल नहोस् भनेर हामीले यहाँ केही नेपाली फिल्मको सूची तयार गरेका छौं जुन युट्युबमा उपलब्ध छन्।

बिदाको अवसरमा तपाईंहरूले छानेर यी फिल्म हेर्न सक्नुहुन्छ।

जारी

लिम्बु संस्कृति र जारी प्रथा झल्कने फिल्म हो ‘जारी’।

दसैंको अवसर पारेर हालै युट्युबमा रिलिज गरिएको फिल्म दर्शकको लागि रूचिकर बन्न सक्छ।

फिल्ममा दयाहाङ राई, मिरूना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, अनिल सुब्बालगायत कलाकारको अभिनय छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म रामबाबु गुरुङले निर्माण गरेका हुन्। फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। त्यस्तै दर्शक र समीक्षकको तर्फबाट राम्रो प्रतिक्रिया पाएको थियो।

जात्रा

जात्रा हास्यप्रधान फिल्म हो।

फणिन्द्र, जोयस र मुन्नाले काठमाडौं सहरमा संघर्ष गर्ने आममान्छेको प्रतिनिधित्व गर्छन्। मेहनत मजदुरी गरेर गुजारा गर्ने उनीहरूले एकदिन अचानक तीन करोड रूपैयाँ नगद भरिएको बोरा भेट्छन्। बैंकबाट लुटिएको उक्त रकम लुकाउन र पचाउन उनीहरुले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।

फणिन्द्रको भूमिकामा विपीन कार्की देखिएका छन् भने जोयसको भूमिकामा रवीन्द्रसिंह बानियाँ र मुन्नाको भूमिकामा रवीन्द्र झा छन्।

प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको फिल्ममा विपीन, रवीन्द्र र रवीन्द्रसँगै वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरेलगायत कलाकारको मुख्य भूमिका छ।

साँघुरो

यौन मनोविज्ञानमा आधारित फिल्म हो ‘साँघुरो’।

फिल्ममा सुकुम्बासी बस्तीको गरिब दम्पत्तीले भोग्नु परेको समस्यालाई मुख्य विषयवस्तु बनाएको छ।

जोयस पाण्डेले निर्देशन गरेको फिल्ममा शुशांक मैनाली, दिया मास्के, अरुणा कार्की र दयाहाङ राईको मुख्य भूमिका छ।

पशुपतिप्रसाद

कुनै फिल्म यस्तो हुन्छ जो दर्शकको मनमस्तिष्कमा बस्न सफल हुन्छ। यस्तै फिल्म हो ‘पशुपतिप्रसाद’।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा खगेन्द्र लामिछानेको मुख्य भूमिका छ। पशुपतिनाथ मन्दिर परिवेशमा खिचिएको फिल्ममा भुइँचालोमा घर र आमाबुबा गुमाएर गाउँबाट काठमाडौं आएको युवाको कथा देखाइएको छ।

यस फिल्ममा भष्मे डनको पात्र निर्वाह गरेका विपीन कार्की दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका छन्। फिल्ममा खगेन्द्र लामिछाने र विपीन कार्कीसँगै वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, अशिष अधिकारी, ज्याक श्रेष्ठलगायत कलाकारको अभिनय छ।

टलकजंग भर्सेज टुल्के

माओवादी आन्दोलनको सेरोफेरोमा आधारित फिल्म हो ‘टलकजंग भर्सेस टुल्के’।

फिल्ममा शोषण, जालझेल, प्रतिशोध र विद्रोहका कथालाई देखाइएको छ।

निश्चल बस्नेतले निर्देशन गरेको फिल्ममा खगेन्द्र लामिछाने, रवीन्द्रसिंह बानियाँ, ऋचा शर्मा, दयाहाङ राईलगायत कलाकारको अभिनय छ।

लुट

निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘लुट’ ले नेपाली फिल्मको ट्रेन्ड नै परिवर्तन गरेको थियो।

बलिउड फिल्मको दबदबा रहेको बेला युवा पुस्तालाई हलसम्म पुर्याउने फिल्म हो ‘लुट’। फिल्ममा बेरोजगार सहरी युवा र पैसा कमाउने दबबामा उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथालाई देखाइएको छ।

हाकु कालेको बैंक लुट्ने मास्टरप्लानबाट फिल्मको सुरूआत हुन्छ। फिल्ममा सौगात मल्लले हाकु कालेको भूमिका निर्वाह गरेका थिए। फिल्ममा सौगात मल्लसँगै दयाहाङ राई, कार्म, प्रविन खतिवडा, प्रतिकराज न्यौपाने, सुशिलराज पाण्डे, सिर्जना सुब्बा, सुष्मा कार्की, कामेश्वर चौराशियालगायत कलाकारको अभिनय छ।

छक्का पञ्जा ३

दर्शकलाई दसैंमा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म बानी छ। उनीहरू हरेक वर्ष कुनै न कुनै फिल्म लिएर दर्शकमाझ प्रस्तुत हुन्छन्।

यो वर्ष उनीहरूको फिल्म ‘छक्का पञ्जा ५’ हलमा प्रदर्शन हुँदैछ। नयाँ फिल्म हेर्नुअघि युट्युबमा उपलब्ध ‘छक्का पञ्जा ३’ हेर्न सक्नुहुन्छ।

‘छक्का पञ्जा ३’ मा शैक्षिक प्रणालीमा हुने बेतिथि देखाइएको छ। हास्य प्रधान फिल्म दर्शकको लागि दसैंको खुराक हुन सक्छ।

फिल्ममा दीपकराज गिरीसँगै दीपिका प्रसाईं, प्रियंका कार्की, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जीतु नेपाल (मुन्द्रे), नीर शाह, शिवहरी पौडेल, किरण केसी, बुद्धि तामाङ, अनुराग कुंवार, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ।

 

सम्बन्धित् समाचार