गृहपृष्ठ Featured महिला च्याम्पियन्स लिग : बार्सिलोनाको फराकिलो जित

महिला च्याम्पियन्स लिग : बार्सिलोनाको फराकिलो जित

युइएफए महिला च्याम्पियन्स लिगमा बार्सिलोनाले फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले स्विडिस क्लब ह्यामर्बीमाथि ९-० गोलअन्तरको फराकिलो जित हात पारेको हो ।

बार्सिलोनालाई खेलको १०औँ मिनेटमा क्यारोलिन ग्राहम हानसेनले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २४औँ मिनेटमा क्लाउडिया पिनाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारिन् । त्यसपछि खेलको ४५औँ मिनेटमा एलेक्सिया पुटेलासले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा ३-० गोलअन्तरको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप ६ गोल गरेको हो । खेलको ५३औँ मिनेटमा मापी लियोनले गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाइन् । त्यसको पाँच मिनेटपछि क्लाउडिया पिनाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५-० स्थितिमा पुर्‍याइन् ।

बार्सिलोनाका लागि खेलको ७२औँ मिनेटमा इवा पाजो र ७५औँ मिनेटमा ग्राहम हानसेनले गोल गरे । त्यसपछि खेलको ८६औँ मिनेटमा इस्मी ब्रुग्ट्स र ९०औँ मिनेटमा पेनाल्टीमार्फत फ्रिडोलिना रोल्फोले गोल गरेपछि बार्सिलोना ९-० को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै समूह ‘डी’ मा रहेको बार्सिलोनाले २ खेलबाट ३ अंक जोडेको  छ । सँगसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ । समूह ‘डी’ को शीर्ष स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटी छ । सिटीले २ खेलबाट ६ अंक जोडेको छ । बार्सिलोनासँग पराजित ह्यामर्बी भने २ खेलबाट ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित् समाचार