गृहपृष्ठ Featured साफ वुमन्स च्याम्पियनसिप : पाकिस्तानको पोस्टमा भारतको ५ गोल

साफ वुमन्स च्याम्पियनसिप : पाकिस्तानको पोस्टमा भारतको ५ गोल

पाँच पटकको विजेता भारतले साफ वुमन्स च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले हराएको हो। दाबेदार भारतले सानदार सुरुवात गर्‍यो।

१७ मिनेटमा दुई गोल गरिसकेको थियो। चानु सोरोखैबामले दिएको क्रसमा अनमार्क पोजिसनमा रहेकी ग्रेस दाङमेईले गोल गरिन।

पाँचौं मिनेटमा नै भारतले अग्रता बनायो। यसपछि १७ औं मिनेटमा बाला देवीको सहयोगमा मनिषाले फस्ट बारमा उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर गरिन्।

एकपक्षीय बनेको खेलको ३६ औं मिनेटमा भारतले तेस्रो गोल गर्‍यो। पाकिस्तानकी किपर निशा असर्फले बललाई धेरै बेर होल्ड गरेको भन्दै रेफ्रीले इनडारेक्ट फ्री–किकको अवसर प्रदान गरे।

इनडारेक्ट फ्री–किकमा मनिषाले दिएको पासमा बाला देवीले गोल गरिन्। बालाको यो करियरको ५० औं अन्तर्राष्ट्रिय गोल हो। यसपछि भारतले ४३ औं मिनेटमा चौथो गोल गर्‍यो।

ग्रेस दाङमेईले हानेको प्रहार पाकिस्तानकी मारिया जनिलालाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो। यसपछि इन्जुरी समयमा पाकिस्तानले पेनाल्टीको अवसर प्राप्त गर्‍यो। आशालता देवीले पाकिस्तानकी नाडिया खानलाई लडाएपछि प्राप्त पेनाल्टीमा सुहा हिरानीले गोल गरिन्।

पहिलो हाफमा भारतले ४–१ को स्पष्ट अग्रता बनायो। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै पाकिस्तानले गोल गर्‍यो। रामिन फरिदको प्रहारलाई भारतकी गोल किपर पान्थोई चानुले ब्लक गरिन्। तर रिबाउन्डमा कायला मारी सिद्दिकीले गोल गरिन्।

योसँगै पाकिस्तानले खेललाई ४–२ को स्थितिमा पुर्‍याउँदै खेलमा फर्कने संकेत देखायो। सुधारिएको प्रदर्शन गर्दै पाकिस्तानले उत्कृष्ट मुभ बनायो। दुई उत्कृष्ट मौका पाकिस्तानले खेर फाल्यो।

७८ औं मिनेटमा भने भारतले पाँचौ गोल गर्‍यो। डालिमा छिब्बरको कर्नरमा ज्योति चौहानको हेडरले सही दिशा लियो। यसपछि खेलमा थप गोल भएन र भारतले ५–२ को जितमा तीन अङ्क जोडेको छ।

प्रतियोगिता अन्तर्गत भोलि पहिलो खेलमा माल्दिभ्स र श्रीलंकाबीचको खेल दिउँसो साढे एक बजे हुनेछ। भोलि हुने दोस्रो खेलमा आयोजक नेपालले भुटानसँग खेल्नेछ। सो खेल साँझ साँढे पाँच बजे हुनेछ।

सम्बन्धित् समाचार