गृहपृष्ठ Featured सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

काठमाडौँ ।

नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ ।

डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए ।

यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो । जसदीप सिंह अन्तिम बलमा रनटआउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रह्यो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे ।

अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यसलाई हात पार्न सकेन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

सम्बन्धित् समाचार