नेपाल एएफसी यु-१७ एसिया कप छनोटअन्तर्गत नेपालले आयोजक कतारसँग लज्जास्पद हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा नेपाल आयोजक कतारसँग ५-० गोलअन्तरले पराजित भएको हो । खेलको २१औँ मिनेटमा यजान मोहम्मदले गोल गर्दै घरेलु टिम कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा जैद फैसलले गोल गर्दै कतारको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २-० को अग्रता लिएको कतारले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको ५५औँ मिनेटमा फैसलले गोल गर्दै कतारलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा ओमर अल मरजौकीले गोल गरेपछि कतार ४-० को स्थितिमा पुग्यो ।
खेलको ८३औँ मिनेटमा फैसलले ह्याट्रिक पूरा गरेपछि कतार नेपालमाथि ५-० को फराकिलो जित निकाल्न सफल भयो । कतारको यो लगातार दोस्रो जित हो । पराजयसँगै नेपाल छनोटबाटै बाहिरिएको छ । पहिलो खेलमा नेपाल जापानसँग ९-२ गोलअन्तरले पराजित भएको थियो । लगातार दुई खेलमा पराजित भएपछि नेपाल एक खेलअघि नै छनोटबाट बाहिरिएको हो ।
नेपालले अब अन्तिम खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहको शीर्ष स्थानमा रहने टिम अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा छनोट हुनेछन् । उत्कृष्ट उपविजेताले पनि उमेर समूहको एसियन कप खेल्नेछन् ।








