गृहपृष्ठ Featured आईसीसी विश्वकप लिग-२: नेपाल अमेरिकासँग ३ विकेटले पराजित

आईसीसी विश्वकप लिग-२: नेपाल अमेरिकासँग ३ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको अमेरिकामा जारी आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको छ ।

निर्धारित ५० ओभरमा नेपालले २८६ रन बनाउँदै अमेरिकालाई जितका लागि २८७ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको उक्त लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै २९१ रन बनाएर पूरा गरेको हो ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राती भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडलले ७५ बलमा ९६ रन बनाए । सोही क्रममा उनले तीन छक्का र ८ चौका प्रहार गरे । त्यस्तै अनिल साहले ६२ बलमा ५६ रन बनाए । उनले ५ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ५३ बलमा ५२ रन बनाए । सो क्रममा उनले एक छक्का र ७ चौका प्रहार गरे ।

कुशल भुर्तेलले २८ बलमा ११ रन, आरिफ सेखले एक छक्का र दुई चौका प्रहार गर्दै ४५ बलमा ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा १३ रन, गुल्सन झाले ३ बलमा एक रन, सोमपाल कामीले चार बलमा दुई रन, सन्दीप लामिछानेले ११ बलमा ५ रन र करण केसीले तीन बलमा तीन रन बनाएर आउट भए । नेपालका लागि ललित राजवंशीले एक बलमा एक रन बनाए ।

अमेरिकाका लागि नोसथुस केन्जिगेले सर्वाधिक चार विकेट लिए । उनले ५२ रन खर्चिए । सौरभ नेत्रावलकरले ६३ रन खर्चिदैँ दुई विकेट लिए । जसदीप सिंह, हरमित सिंह र स्याड्ली भान श्यालवाएकले समान एकएक विकेट लिए । जसदीपले ६४ रन, हरमितले ४६ र स्याड्ली भान श्यालवाएकले ५७ रन खर्चिएका हुन् । नेपालले अतिरिक्त नौ रन पाएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाका सायन जहाँगीरले १०४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै मोनाक पटेलले ६२ र हरमित सिंहले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै अमेरिकाको जितमा साडली भान सचलकेयकले २९ तथा साइतेजा मुकम्मलले ११ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेलले ६ ओभर बलिङ गर्दै २३ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए भने ललित राजवंशीले ८ ओभर बलिङ गर्दै २९ रन दिएर १ विकेट लिए । ९ ओभर बलिङ गरेका सन्दीप लामिछानेले ६३ रन खर्चिए पनि विकेट लिन सकेनन् भने ३ ओभर बलिङ गरेका गुल्सन झाले ३२ रन दिएर विकेटविहीन रहे ।

सम्बन्धित् समाचार