आइसिसी यू-१९ महिला विश्वकप एसिया छनोट २०२४ अन्तर्गत कुवेतविरूद्ध नेपालकी कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेकी छिन्।
पूजाले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दा नेपालले १६५ रनको जित निकालेको छ। पूजाले खेलमा शतक र पाँच विकेट लिँदै इतिहास रचिन्। उनी नेपालका लागि एकै खेलमा पाँच विकेट लिने र शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बन्न सफल भइन्।
युएईको अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजाले शतक प्रहार गर्दै इतिहास बनाइन्। उनी नेपालको महिला यू-१९ टोलीका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो ब्याटर बनिन्।
पूजाले खेलमा नटआउट १३० रन जोडिन्। उनले ६९ बल खेल्दा १७ चौका प्रहार गरेकी थिइन्। सोनी पाख्रिनले नटआउट ४३ रन जोडेर पूजालाई राम्रो साथ दिइन्। सोनीले ३३ बलमा २ चौका प्रहार गरिन्।
पूजा र सोनीबीच नटआउट १५७ रनको साझेदारी भएको थियो। पूजा र सोनीको उत्कृष्ट ब्याटिङसँगै नेपालले २ विकेटको क्षतिमा २१३ रन जोडेको छ। यो नेपाली महिला यू-१९ टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो।








