पोर्चुगल युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिहान घरेलु मैदानमा भएको खेलमा पोल्याण्डमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकाल्दै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले दुई तथा राफेल लियो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले समान एक-एक गोल गरे । पोल्याण्डका लागि डोमिनिक मार्कजुकले सान्तोना गोल गरेका थिए ।
खेलको ५९औँ मिनेटमा राफेल लियोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७२औँ मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए ।
खेलको ८०औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि पोर्चुगल ३-० को अग्रता लिन पुग्यो । खेलको ८३औँ मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रतामा पुर्याए । खेलको ८७औँ मिनेटमा कप्तान रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल ५-० को अग्रता लिन सफल भयो ।








