जाडोयाम सुरु भएसँगै मानिस कडा चिसोबाट बच्न विभिन्न उपाय अपनाउँछन् । चिसोबाट बच्न हिटर र गिजरको प्रयोग धेरै हुन्छ । जाडोमा चिसो पानी छुन समेत डर लाग्छ । यस्तो अवस्थामा प्राय: मानिसले गिजर प्रयोग गरेर तातो पानीको प्रयोग गर्छन् । तर चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हिटर तथा गिजरका कारण दुर्घटनामा परी अस्पताल भर्ना भएका र मृत्यु भएका घटना वर्षैपिच्छे सुनिन्छ ।
सावधानीपूर्वक प्रयोग गरिएन भने यसले स्वास्थ्य समस्या निम्त्याउन सक्छ । लामो समय शौचालय बस्दा र गिजर चलाउँदा त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ त ?
त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक एवं छातीरोग विशेषज्ञ डा. नीरज बम भेन्टिलेसन नभएको स्नान कक्ष वा कोठामा गिजरको प्रयोग गर्दा कार्बन मोनोअक्साइडको मात्रा धेरै भएर मान्छे बिरामी हुने वा कतिपय अवस्थामा मृत्यु समेत हुने गरेको बताउँछन् ।
‘ढोका बन्द गरेर हिटर वा गिजर चलाउँदा त्यसबाट कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड उत्पादन हुन्छ’, उनी भन्छन्, ‘बाथरुममा भेन्टिलेसन खुला छैन भने त्यही कोठामा ती हानिकारक ग्यास जम्मा भएर बस्छन् । त्यही ग्यास हामीले सास फेर्दा शरीरभित्र छिर्छ ।’