फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीले टुलुस एफसीमाथि ३-० गोलअन्तरको सहज जित निकालेको हो । योसँगै पीएसजीले अंक तालिकामा ६ अंको स्पष्ट अग्रता लिएको छ ।
खेलको ३५औँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
खेलको ८४औँ मिनेटमा लुकास बेराल्डोले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारेका थिए । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजी टुलुसमाथि ३-० को सहज जित निकाल्न सफल भयो ।
जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीको १२ खेलबाट ३२ अंक भएको छ । पराजित टुलुस भने १२ खेलबाट १५ अंकका साथ तालिकाको १०औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको मोनाकोको समान खेलबाट २६ अंक छ ।








