स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम ।
पहिलोपटक हुन लागेको एनपीएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।”
सापकोटाझैँ हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर छ । देशभित्र मात्र नभएर विदेशमा रहेका क्रिकेटप्रेमी पनि नेपाली क्रिकेटको यो महाकूम्भलाई व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) आफैँले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।