नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको एनपीएलमा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दै छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज मध्याह्न १२ बजेर १५ मिनेटमा सुरु हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ । त्यसअघि उद्घाटन समारोह हुने क्यानले जनाएको छ । विराटनगर किंग्स नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछाने र जनकपुर नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर अनिल साहको कप्तानीमा मैदान उत्रिनेछन् ।
जनकपुर बोल्ट्सको मार्की खेलाडी आसिफ शेख भए पनि कप्तानीको जिम्मेवारी भने साहले पाएका छन् । फ्रेन्चाइज आठ टिममध्ये मार्की खेलाडीबाहेक फरक खेलाडीलाई कप्तान बनाउने टिम जनकपुर बोल्ट्स मात्रै हो । अन्य सात फ्रेन्चाइज टिमले मार्की खेलाडीलाई नै कप्तान बनाएका छन् ।
उद्घाटन खेलका लागि विराटनगर र जनकपुर दुवै टिमका कप्तानले आफ्नो टिम तयार रहेको बताएका छन् । विराटनगर किंग्सका कप्तान सन्दिप लामिछानेले जनकपुर बोल्ट्सविरुद्धको खेलका लागि टिम तयार रहेको बताए । ‘हामी उद्घाटन खेलका लागि तयार छौँ । हामी जितकै लागि मैदान उत्रिनेछौँ,’ उनले भने ।
जनकपुर बोल्ट्सका कप्तान अनिल साहले एनपीएलका लागि टिम तयार भएको र सबै कुरा मैदानमै देखाउने बताए । ‘हामीले अभ्यास पनि राम्रोसँग गर्यौँ । विदेशी खेलाडीको आगमनपछि टिम राम्रो बनेको छ । हामी बोलेर भन्दा मैदानमै खेलेर देखाउँछौँ,’ साहले भने ।
विराटनगर किंग्समा लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । यसैगरी, विराटनगरबाट ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गुप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलमले एनपीएल खेल्दै छन् । विराटनगरको प्रशिक्षकमा केभिन ओब्राइन छन् ।
यस्तै, जनकपुरमा स्पिनर ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । यसैगरी, जनकपुरबाट न्यूजिल्यान्डका जिमी निसम, अमेरिकाका जोसुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलंकाली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इंग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुरको मुख्य प्रशिक्षक नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुन् ।
एनपीएलमा हरेक टिमले चार जना विदेशी खेलाडी पहिलो रोजाइमा खेलाउनुपर्नेछ । टिममा भने ६ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछ । ६ पुससम्म चल्ने एनपीएल विश्व चर्चित खेलाडीको आगमनले निकै चर्चा पाएको छ । यसपटक त्रिवि मैदानमा ‘डिजिटल स्कोर बोर्ड’ राखिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले एनपीएलको चर्चा थप चुलिएको छ ।