नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडी महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्।
मधेश प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरवासीले भव्य स्वागत गरे। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरवासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलमाला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे।
खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो। खेलाडीको स्वागतमा देशकै जेठो विद्यालय राजकीय संस्कृत मावि (गुरुकुल) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए। नगर परिक्रमाका क्रममा गुरुकुल परिसर पुगेका जनकपुर बोल्ट्सका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तिवाचन गरेका थिए।
मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो। जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरूको स्वागत गरेका थिए। नगरवासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुसी व्यक्त गरेका थिए। त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा बढाउने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए।
विजयी टोली जलेश्वरबाट एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गर्नेछन्। जनकपुर बोल्ट्स प्रबन्ध निर्देशक निरज खतिवडाले आम नागरिकको चासो र आफूहरूले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफूहरूलाई ऊर्जा मिलेको बताए।
जनकपुर बोल्ट्सले एनपिएल जितेको खुसियालीमा मधेश प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउँदै छ। शुक्रबार धनुषाको जनकपुरधामबाट शुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो। टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ।








