गृहपृष्ठ कपिलवस्तु बिशेष संघ र प्रदेशको बेवास्ताकाबीच टिक्कर–बुड्ढी–बिजगौरी सडक सम्पन्न गर्ने नगरप्रमुख श्रेष्ठको संकल्प

संघ र प्रदेशको बेवास्ताकाबीच टिक्कर–बुड्ढी–बिजगौरी सडक सम्पन्न गर्ने नगरप्रमुख श्रेष्ठको संकल्प

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले टिक्कर–बुड्ढी–बिजगौरी सडकखण्डलाई आफ्नो गौरवको आयोजनाका रुपमा राखेको छ । यस योजना सम्पन्न गर्न प्रदेश र संघ सरकारको पर्याप्त ध्यान जान सकेको देखिदैन् । जसले बुद्धभूमि नगरपालिकालाई थप आर्थिक भार व्यहोर्नु परेको छ । पटक–पटकको ताकेताले पनि प्रदेश र संघ सरकारबाट पर्याप्त बजेट विनियोजन हुन नसकेको नगरप्रमुख केशव कुमार श्रेष्ठले गुनासो छ ।

आर्थिक बर्ष २०७८÷७९ बाट सुरु भएको यस सडकखण्डमा हालसम्म ७ मिटर चौडाई भएको ३,८४७ मिटर सडक कालोपत्रे भएको छ । ९ मिटरको चौडाई कायम गरि ७ मिटरमा सडक कालोपत्रे गरिएको नगरपालिकाकी इन्जिनियर निकिता त्रिपाठीले बताईन् । उनले यस सडकखण्डमा ३,५९१ मिटर नाली, ३ वटा कल्भर्ट र ४५१ मिटर रेटेनिङ्गवाल निर्माण भएको जानकारी दिईन् । उनले यी कामसंगै ह्युमपाईप, रोड पेन्टिङ्ग, फुल सार्ने, रुख काट्ने, नाली ढक्कन राख्ने, फुटपात आदिको समेत काम भएको बताईन् ।

तीन बर्ष पुरा भई चौथो बर्षमा काम भईरहेको यस सडकखण्डमा हालसम्म १० करोड ५६ लाख रुपैयाँ लगानी भईसकेको छ । जहाँ नगरपालिकाको मुख्य लगानी छ । यस चालु आर्थिक बर्षमा पनि नगरपालिकाले ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त रकममध्ये २ करोडको बिजगौरीदेखि उत्तरतर्फ सडकखण्डमा काम हुने छ भने घन्चौरा क्षेत्रमा डेढ करोडको काम हुने छ ।

संघ र प्रदेश सरकारले यस सडकखण्डलाई वेवास्ता गरेको गुनासो गर्दै उनले भने, ‘यो सडकखण्डले नगरका ६ वटा वडालाई छुन्छ । हजारौं नगरवासीको जनजीवनसंग जोडिएको सडक हो । सडकखण्डको काम सम्पन्न गर्न पर्याप्त बजेट माथिबाटै विनियोजन हुनुपर्ने हो, तर प्रदेश र संघले झारा टार्ने काम मात्र गरेका छन् ।’

गोरुसिंगे–सन्धिखर्क सडकखण्डभन्दा टिक्कर–बुड्ढी–बिजगौरी सडकखण्ड स्तरिय बन्ने उनको दाबी छ । यो सडकखण्ड बुद्धभूमि नगरपालिकाको मेरुदण्डका रुपमा रहेको उनले बताए ।

संघ र प्रदेश सरकारबाट पर्याप्त बजेट विनियोजन नहुने हो भने यो खडकखण्ड पुरा हुन अझै ३ बर्ष लाग्ने निश्चित छ ।

सम्बन्धित् समाचार